Wednesday, January 21, 2009

नेपालीभाषी पत्रकारलाई सात वर्ष

काठमाडौं - भुटानका एक नेपालीभाषी पत्रकारलाई थिम्पुस्थित अदालतले साढे सात वर्ष जेल सजाय तोकेको छ । उनीमाथि भुकपा मालेमावादीमा लागेर भुटान सरकारविरुद्ध गतिविधि गरेको अभियोग छ ।
भुटान रिपोर्टर मासिकका पत्रकार शान्तिराम आचार्य एक वर्षअघि पक्राउ परेका थिए । पक्राउ गरेपछि पत्रकार आचार्यको अवस्था अज्ञात थियो । भुटानी पत्रकारहरूको संस्थ्ाा एसोसिएसन अफ प्रेस फ्रिडम एक्टिभिस्ट (एपिएफए) भुटानले जेलमा रहेका आचार्यको पछिल्लो अवस्था सार्वजनिक गरेको हो ।

२० वर।षीय पत्रकार आचार्यलाई भुकपा मालेमावादीद्वारा सञ्चालित भएर भुटानविरुद्ध गतिविधिमा संलग्न रहेको अभियोगमा थिम्पुको सर्वोच्च अदालतले जेल सजाय सुनाएको एपिएफए भुटानका महासचिव विद्यापति मिश्रले जानकारी दिए । नेपालको शरणार्थी शिविरमा बस्दै आएका पत्रकार आचार्य आफन्त भेट्न भुटान गएका वेला २००७ जनवरी १६ मा पक्राउ परेका थिए । उनलाई दुई महिनासम्म प्रहरी हिरासतमा चरम यातनासहित राखिएको तथा अभियोगपत्रमा जबर्जस्ती हस्ताक्षर गर्न लगाइएको समेत एपिएफएका महासचिव मिश्रले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मिश्रका अनुसार थिम्पुको अदालतले पत्रकार आचार्यविरुद्धको कानुनी अभियोगसम्बन्धी कागजपत्र नेपाली भाषामा तयार गरेको थियो । जबकि भुटानी अदालतमा नेपालीभाषाको प्रयोग हालसम्म नभएको मिश्रको भनाइ छ । भुटानी अदालतमा धेरैजसो कागजात जोङ्खा भाषामा तयार गरिन्छ, उक्त भाषा भुटानमा रहेका नेपालीभाषीले बुझ्दैनन् ।

पत्रकार आचार्य आतंककारी गतिविधिमा संलग्न भएको प्रमाण भने भुटानी प्रहरीसँग नभएको एपिएफएले जनाएको छ । भुटानी प्रहरीले नेपालको पूर्वी भागमा माओवादीको तालिममा आचार्य सहभागी भएको आरोप लगाएको छ, तर त्यसको पुष्टि गर्ने चित्तबुझ्दो प्रमाण उसँग छैन । आचार्य पक्राउ परेलगत्तै भुकपा मालेमावादीले विज्ञप्ति प्रकाशित गरी उनी आफ्नो संगठनमा नभएको बताइसकेको थियो ।

भुटानी प्रहरीको अभियोगमा आचार्यले डिजिटल क्यामेराबाट शाही भुटानी सेनाको ब्यारेकको तस्बिर लिएको उल्लेख छ । त्यसले भुटानविरुद्ध आचार्यको गतिविधिको सरकारी अभियोग पुष्टि नहुने भुटानी पत्रकारहरूले बताएका छन् । भुटानमा करिब डेढ लाख नेपालीभाषी नागरिकलाई खेद्ने तावासुम कानुनअन्तर्गत पत्रकार आचार्यलाई पनि सजाय दिइएको एपिएफएले जनाएको छ । एपिएफए भुटानले पत्रकार आचार्यको पछिल्लो स्थितिका बारेमा सार्वजनिक जानकारी दिन सरकारसँग माग गरेको छ । एपिएफए भुटानले सिआरसीलगायतलाई आचार्यको जीवन रक्षाको पहल गरिदिनसमेत अनुरोध गरेको छ ।
(नयाँ पत्रिका, जनवरी २१, २००९)

No comments: