राजाराम गौतम
केही दिनअघि विश्व प्रेस स्वतन्त्रता दिवस -मे ३) को अवसरमा नेपाल पत्रकार महासंघद्वारा आयोजित कार्यक्रममा भुटानको निजी अखबार भुटान अब्जर्भरका सम्पादक नेड्रुप जाङ्पोले आफ्नो देशमा प्रेस स्वतन्त्रता नभएको स्वीकारे ।
उनले भने भुटानी प्रशासक र नेताले आलोचनालाई अझै पनि सहज रूपमा लिन नसकेको बताएका थिए । सरकारी तथ्यांकमा करिब साढे सात लाख जनसंख्या भएको उक्त देशमा तीनवटा अखबार छन् -सरकारी मुखपत्र क्युन्सेल र दुई निजी क्षेत्रका भुटान अब्जर्भर र भुटान टाइम्स) । क्युन्सेल लाई सरकारी विज्ञापन उपलब्ध छ, तर निजी अखबार स्थापनाको केही वर्षभित्रै संकटमा परेका छन् । तर योभन्दा पनि मुख्य कुरो ती युवा सम्पादकले भनेझैं सत्ता र शक्तिमा भएका व्यक्ति तथा जनप्रतिनिधिको आलोचना गर्न नपाउने अवस्थामा छन्, भुटानी अखबार ।
भुटानभित्र स्वतन्त्र पत्रकारिताको अवस्था दयनीय भए पनि प्रवासको पत्रकारिता केही हदसम्म राम्रो देखिन्छ । पटक-पटकको संकटका बाबजुद मासिक अखबार द भुटान रिपोर्टर निस्किरहेकै छ । नेपालका शिविरदेखि पश्चिमा राष्ट्रसम्म फैलिएका शरणार्थी बारेका खबर अनलाइनमार्फत प्रकाशित भइरहेका छन् । एफएमबाट समेत शरणार्थी सरोकार प्रसारण भइरहेको छ । यसको श्रेय जान्छ, केही जुझारु भुटानी शरणार्थी युवालाई जसले आफ्नो गाँस काटेर भए पनि सूचनाको दीयोलाई निभ्न दिएका छैनन् । यिनै मध्येका एक ठाकुरप्रसाद मिश्रले आफ्नै बलबुतामा हालै एक पुस्तक प्रकाशित गरेका छन्, बिकमिङ अ जर्नालिस्ट इन एक्जाइल । शरणार्थीको संघर्षको कथा आफंैमा मर्मस्पर्शी हुन्छ । त्यसमाथि निर्वासनको पत्रकारिता साधनस्रोतको कमी, कानुनी उल्झनजस्ता विषयले थिचिएको हुन्छ । तर जस्तै अवस्थामा भए पनि मान्छेलाई सूचनाको दरकार हुन्छ । मिश्रले आफ्नो पुस्तकमार्फत यिनै कुरा उजिल्याएका छन् ।
एक सय अठ्ठाइस पृष्ठको पुस्तकको आवरणमा लेखकको हिँडिरेको अवस्थाको तस्वीर छ, जसमा उनी सम्पादक रहेको भुटान रिपोर्टरको चाङ वितरणका लागि प्रेसबाट बोकेर डेरातिर लैजाँदैछन् । अमेरिकी पत्रकार लौरा एलिजावेथ पौलले खिचेको तस्वीरले शरणार्थी पत्रकारिताको यथार्थ झल्काउँछ । पन्ना पल्टाउँदै जाँदा थाहा हुन्छ, पुस्तकका लेखक र सम्पादक मिश्रले अरूको पनि सहयोग लिएका रहेछन् । अन्य सातजना पत्रकारिता र लेखनसम्बद्ध व्यक्तिको नाम उनले सहलेखकका रूपमा राखेका छन् । तिनमा भुटानी शरणार्थी -आरपी सुब्बा, नन्द गौतम, आईपी अधिकारी) देखि बेलायती -डेभिड ब्यु्रअर) र भारतीय पत्रकार -सुवीर भौमिक) सम्म छन् ।
पुस्तक चार भागमा विभाजित छ । पहिलो अध्यायमा पत्रकारिता के हो, यसका सिद्धान्त के छन्, पत्रकार बन्न के कस्ता गुण हुनुपर्छ जस्ता आधारभूत जानकारी छन् । पहिलो अध्यायकै दोस्रो लेख 'क्यानन्स अफ जर्नालिजम'मा आचारसंहिताका कुरा छन् । डेभिडले लेखेको 'बिकमिङ अ जर्नालिस्ट' शीर्षक लेखमा ती पाका पत्रकारले सञ्चारका विभिन्न विधा -रेडियो, टीभी, छापा) मा काम गर्दाका आफ्ना अनुभवसँगै पत्रकारिताका पक्षबारे सविस्तार लेखेका छन् । दोस्रो र तेस्रो अध्याय क्रमशः भुटानभित्र पत्रकारिता र आमसञ्चारको अवस्था र शरणार्थी शिविरको पत्रकारितामाथि केन्दि्रत छ । भुटानभित्र र शरणार्थी शिविरबारे माथि नै उल्लेख गरिसकियो । कुरा तिनै हुन् । पुस्तकमा हाल भुटानमा जेलजीवन बिताइरहेका शरणार्थी पत्रकार शान्तिराम आचार्यको मुद्दासमेत उठाइएको छ ।
पुस्तकको अर्को उल्लेख्य पक्ष हो, तीन पत्रकारहरूले लेखेको आफ्नो करिअर भोगाइ सम्बन्धी लेख । जस्तो- 'जर्नालिजम ः राइजिङ अबोभ द आइडेन्टिटी ब्यारिअर' शीर्षक लेखमा बीबीसीका पूर्वोत्तर भारत संवाददाता सुवीर भौमिकले त्रिपुरा राज्यमा सुरुवाती दिनमा रिपोर्टर हुँदाको अनुभव बाँडेका छन् । उनी त्रिपुरामा सन् १९८० को दसकमा भएको दंगामा आदिवासी र बंगाली आप्रवासी बीचको भीडन्तको प्रसंग कोटयाउँछन् । आदिवासी समुदायका न कुनै अखबार थिए न पत्रकार नै । बंगाली बहुल मिडियाले आफ्नै जातिको पीडामात्र वर्णन गर्दा आदिवासीको मुद्दा ओझेलमा परेको भौमिकको भनाइ छ । त्यसो हँुदा पत्रकारिताको एक महत्त्वपूर्ण कडी सन्तुलन गुम्न पुग्छ । पत्रकारले परिचयको तगारोबाट माथि उठ्नुपर्ने उनको निष्कर्ष छ । नेपालमा पनि 'आइडेन्टिटी पोलिटिक्स'ले पछिल्लो समय ठाउँ पाइरहेका बेला भौमिकको निक्र्योल हाम्रालागि पनि सान्दर्भिक हुनसक्छ ।
Posted on: 2009-05-08 21:18:35
No comments:
Post a Comment